काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।
राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन् । राहुलले आज १-ओभर ७३ को स्कोर बनाउँदा समग्रमा १०-अन्डर २ सय ६ स्कोर बनाएका छन् ।
जयरामले आज ४-अन्डर ६८ को स्कोर निकाल्दा समग्रमा ५-अन्डर २ सय ११ स्कोर बनाउँदै दोस्रो स्थानमा उक्लन सफल रहे । भुवन कुमार रोक्काले ४-ओभर ७६ मा आजको खेल सकाए । उनी समग्रमा इभन-पार ७२ सहित तेस्रो स्थानमा झरे । समग्रमा २-ओभर २ सय १८ सहित तोरण विक्रम शाही, शुक्र बहादुर राई र दिनेश प्रजापति संयुक्तरुपमा चौथो स्थानमा छन् ।
तोरणले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए । यो स्कोरमा तोरण १० स्थान माथी उक्लिएका छन् । शुक्र र दिनेशले इभन-पार ७२ मा तेस्रो दिनको खेल पुरा खेले । नेपाल नम्बर एक प्रो खेलाडी निरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्तरुपमा सातौं स्थानमा रहे । उनीहरूले समग्रमा ६-ओभर २ सय २२ स्कोर बनाए ।
रूबेन र निरजले ४-ओभर ७६ को स्कोर गर्दा भुवनले ५-ओभर ७७ को खराब प्रदर्शन गरे । यस्तै प्रदीप कुमार लामा र एमेच्योर साम डोबलार्ड समग्रमा ७-ओभर २ सय २३ सहित संयुक्तरुपमा दशौं स्थानमा छन् । प्रदीपले २-ओभर ७४ र सामले १-ओभर ७३ को स्कोर निकाले ।
लगातार तेस्रो दिन शीर्षस्थानमा रहेका राहुलले आज फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । तर छेटौं होलमा बोगी र ३-पारको आठौं होलमा डबल बोगीको समना गरे ।
यसपछि १४औं होलको बोगीले ब्याक नाइन १-ओभर ३७ मा सकाए । जयरामले दोस्रो होलको बोगी विरूद्ध पहिलो, चौथो र सातौं होलमा तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले ।
यसपछि १२ औं, १३ औं र १७ औं होलमा एक-एक सट बचाए । १४ औं होलको बोगीले ब्याक नाइनमा पनि २-अन्डर ३४ मा पुरा गरे । भुवनले पाँचौं होलमा बर्डी प्रहार गरेपनि छैटौं र आठौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ खेले ।
ब्याक नाइनमा झनै खराब प्रदर्शन गर्न पुगे । १२औं होलमा इगलको सफलता प्राप्त गरे । तर यसपछि १४औं होलमा डबल बोगी तथा १३औं, १६औं र १८औं होलमा पनि एक-एक सट खेर फाले । ब्याक नाइन ३-ओभर ३९ मा सकाए ।
