मिक्लाजुङ (मोरङ) । सिसौली युवा क्लबको आयोजनामा मिक्लाजुङ गाउँपालिका–८ स्थित डङ्डङे खेलमैदानमा सञ्चालन भइरहेको प्रथम दिपेश मगर स्मृति खुल्ला वडा–स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ अन्तर्गत अन्तर्गत आज सम्पन्न दुई सेमिफाइनल खेलहरुबाट वडा नम्बर १ र वडा नम्बर ३ फाइनलमा प्रवेश गरेका छन् ।
दिनको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ६ बीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।
अत्यन्तै रोमाञ्चक बनेको पेनाल्टी सुटआउटमा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई १२–११ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । पेनाल्टी सुटआउटमा वडा ३ का गोलरक्षक सन्दिप लिङ्देनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाउन अहम भूमिका खेलेका थिए ।
त्यसैगरी, दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ लाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको वडा १ ले उत्कृष्ट टिमवर्क र रणनीतिक खेल प्रस्तुत गर्दै जित हात पारेको हो ।
दुवै सेमीफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा वडा नम्बर ३ का गोलरक्षक सन्दिप लिङ्देन र वडा नम्बर १ का ओसन राई ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
आयोजकका अनुसार प्रतियोगिताको महाफाइनल खेल आगामी शनिबार दिउँसो १ बजे वडा नम्बर १ र वडा नम्बर ३ बीच हुने छ। फाइनल खेललाई दर्शकका लागि थप रोमाञ्चक बनाउन विशेष तयारी गरिएको आयोजक सिसौली युवा क्लबले जनाएको छ ।
स्थानीय खेलकुदको विकास, युवाको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले मिक्लाजुङ क्षेत्रमा फुटबलप्रेमीको उल्लेखनीय सहभागिता र उत्साह बढाएको छ ।
