क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । प्यालेसको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४औं मिनेटमा एस्टभाओको गोलबाट अग्रता लिएको थियो ।
खेलको ५०औं मिनेटमा जोआओ पेड्रोले चेल्सीको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा एन्जो फर्नान्डेजले पेनाल्टी मार्फत गोल गर्दा चेल्सी ३-० ले अघि बढ्यो ।
७३औं मिनेटमा प्यालेस १० खेलाडीमा समेटियो । प्यालेसका मिडफिल्डर एडम वार्टन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर, संख्यात्मक कमीको बाबजुद पनि प्यालेसले निर्धारित समय सकिनु दुई मिनेट अघि एक गोल फर्कायो । प्यालेसका लागि एक मात्र गोल क्रिस्टोफर रिचार्डसले गरे ।
जितपछि चेल्सीको २३ खेलबाट ३७ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । पराजित प्यालेस २३ खेलबाट २८ अंकका साथ १५औं स्थानमा छ ।
आइतबार राति नै भएको अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई ३-२ ले पराजित गर्यो । नटिङ्घम फरेस्टले ब्रेन्टफर्डलाई २-० हराउँदा एष्टन भिल्लाले पनि न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्यो ।
