कीर्तिपुर क्रिकेट रङ्गशालामा सञ्चालन भइरहेको आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित हात पारेको छ । शनिवार नेपालले जिम्बाब्बेलाई छ विकेटले पराजित गरेको हो ।
टेस्ट राष्ट्रसँगको पहिलो पटकको खेलमै नेपाल जित निकाल्न सफल भयो । यो जित सँगै नेपालको सूपर सिक्समा प्रवेश गर्ने आशा भने कायम रहेको छ ।
नेपालले यसअघिका दुई खेलमा थाईल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । अब नेपालले लिगको अन्तिम खेलमा सोमवार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलको परिणामले नेपालको सूपर सिक्सको यात्रा तय गर्नेछ ।
आज टस हारेर ब्याटिङ पाएको जिम्बाब्बेले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । जवाफमा नेपालले उपकप्तान पूजा महतोको अविजित ५२ रनको अर्धशतकिय पारीसँगै १९औँ ओभरमा ४ विकेट गुमाउँदै जित हात पार्यो ।
जिम्बाब्बेका लागि केलिस नोड्लोभुले खेलेको अविजित ५२ रनको पारी सम्झना योग्य थियो । नेपाली बलर कविता कुँवरले खेलको पहिलो ओभरमा नै चिपो ट्रिपानोलाई कसिकसाउ बलिङ गर्दै बोल्ड गरेकी थिइन् ।
त्यसपछि विपक्षीलाई मध्यम स्कोरमा समेट्न रिया शर्माले २ विकेट लिइन् भने कविता सहित सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले १/१ विकेट लिएकी थिइन् ।
१० राष्ट्रबीच दुई समूहमा सञ्चालन भइरहेको खेलमा नेपालको समूहबाट द नेदरल्यान्ड्स सूपर सिक्समा प्रवेश गरिसकेको छ भने जिम्बाब्बे सबै चार वटा खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
