काठमाडौं । वडा १६ का रिजन शाक्य र वडा १७की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
रिजन ब्वाइज तथा अर्सना गल्समा पहिलो भएका हुन् । ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११-३, ११-५ र ११-७ को सोझो सेटमा पराजित गरे । वडा १६ का स्वर्णिम शाक्य शाक्य र वडा ९ को सोयम महर्जन तेश्रो बने ।

गर्ल्सको उपाधि भिडन्तमा अर्सनाले वडा २० की पमिला जोशीलाई सीधा सेटमा ११-९, ११-५ र ११-७ ले हराइन् । ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको पुरुष खुला सिंगल्सको ‘बी’ क्याटगोरीमा वडा २० का इरिस शाक्य पहिलो भए ।
उनले फाइनलमा वडा ६ का अनुज शाक्यलाई १२-१०, ११-५, ८-११ र ११-५ ले पाखा लगाए । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा वडा ९ का मुकेश महर्जनले वडा ११ का राजिप वज्राचार्यलाई ११-७, १३-११ र ११-२ को सोझो सेटमा पन्छाए ।
