नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष दीपक विष्ट अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप एक महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । उनी पहिलो पटक वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन् ।

नेपाल ओलिम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विष्टको यो सफलताबारे जानकारी दिँदै यसलाई सम्पूर्ण नेपाली खेलकुद जगतका लागि गर्वको क्षणको रूपमा उल्लेख गरेका छन् । उनका अनुसार, विष्टको यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा थप चिनाउने र नेपाली खेलकुदको छवि उच्च बनाउने विश्वास लिइएको छ ।

आइतबार सम्पन्न वर्ल्ड ओलिम्पियन एसोसिएसनको अनलाइन साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सो सभामा भएको निर्वाचन प्रक्रियामा विश्वभरका १ सय ५५ जना प्रतिनिधिहरूले मतदानमा सहभागिता जनाएका थिए ।

यसै साधारण सभाबाट स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी पर्निला विबर्ग डब्लुओएको अध्यक्ष पदमा निर्वाचित भएकी छन् । विबर्ग दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता तथा चार पटक विश्व च्याम्पियन बनेकी अनुभवी खेलाडी हुन् ।

महासचिव भण्डारीले दीपक विष्टको कार्यकाल सफल, प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उनको नेतृत्वबाट नेपालको खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत उपस्थिति बनाउने विश्वास व्यक्त गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) मा चार पटक स्वर्ण पदक जितेका तथा एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका विष्टको ओलिम्पियन संघमा यो दोस्रो कार्यकाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *