इटहरी । तेस्रो इन्टर कलेज टी–२० क्रिकेट टुर्नामेन्टअन्तर्गत शनीवार सम्पन्न पहिलो खेलमा नमुना कलेज इटहरीले विश्व आदर्श कलेज ‘बी’ टिमलाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ ।

विश्व आदर्श कलेजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नमुना कलेज इटहरीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनायो। नमुना कलेजका लागि गौरब कट्वालले २० बलमा ४० रनको आक्रामक इनिङ खेले । त्यस्तै, राजु बी.के.ले २२ बलमा ३३ रन र बिपुल शाहले २१ रनको योगदान दिए । बलिङतर्फ विश्व आदर्श कलेजका अनिल आचार्य र जस्बिन ढुंगानाले १–१ विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याउने क्रममा विश्व आदर्श कलेज ‘बी’ टिम १० ओभर १ बलमै सबै विकेट गुमाउँदै जम्मा ५३ रनमै समेटियो । विश्व आदर्शका तर्फबाट पौल सिग्देलले १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नमुना कलेजका बलर प्रकाश कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभर १ बलमा मात्र ३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै, शुबित मेहताले ३ विकेट र गौरब कट्वालले १ विकेट लिए । खेलको ‘म्यान अफ द म्याच’ प्रकाश कार्की घोषित भए ।

आजकै दोस्रो खेलमा जनता माध्यमिक विद्यालय इटहरीले रेड स्टार कलेज पथरीलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रेड स्टार कलेज १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८३ रनमै सीमित भयो । ८४ रनको सामान्य लक्ष्य पछ्याएको जनता मा.वि.ले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *