विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ ।
१८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा सीमित भएको एभरेष्ट स्कुलले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता मावि तेस्रो भएको छ ।
विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्वीज मास्टर सन्देशदास श्रेष्ठ, आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडालगायतले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
विगत ३० वर्षदेखि एउटै आयोजक र प्रायोजकमार्फत अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका १८ वटा विद्यालयको सहभागिता रहेको जुनियर जेसीजका महासचिव सञ्जु योगीले जानकारी दिए ।
