धरान । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन राहुल विश्वकर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् ।
धरान गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन २–ओभर ७२ को स्कोर जोडेका राहुलले सुन्दर राईलाई १ स्ट्रोकले पछि पारे । ३–ओभर ७३ खेलेका सुन्दर राई दोस्रो स्थानमा छन् । ५–ओभर ७५ स्कोरका साथ पदम हाङ्ग लिम्बु, राम तामाङ, राजेश राई र भरत तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।
पहिलो दिनको खेल ६–ओभर ७६ मा सकाएका देउ कुमार राई र जीवन राई संयुक्त रूपमा सातौ स्थानमा रहे । यस्तै ७–ओभर ७७ स्कोर बनाएका बुद्धिमान सुनुवार र गजेन्द्र लिम्बुले संयुक्तरुपमा नवौं स्थानमा पहिलो १८ होलको खेल पुरा गरे ।
राष्ट्रिय टिमका सदस्य राहुलले फ्रन्ट नाइन २–ओभर ३८ खेले। बोगीबाट दिनको सुरूवात गरेका उनले चौथो र सातौं होलमा पनि एक–एक सट खेर फाले । तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि १२ औं होलको बर्डीका विरूद्ध १५ औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले ।
सुन्दर राईले पाँचौ होलमा एक सट जोगाए पनि चौथो र आठौं होलमा बोगी तथा ४–पारको नवौं होलमा डबल बोगी प्रहार गरे । यो सँगै फ्रन्ट नाइन ३–ओभर ३९ मा सकाए। यसपछि १३औं र १८औं होलमा बर्डी प्रहार गरे । तर १४ औं होलको डबल बोगीले ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे ।
प्रतियोगितामा ३८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देउकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा भएको दुई दिने प्रतियोगिता नेपाली गल्फमा ऐतिहासिक हो । एमेच्योर नेपाली गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिताको थालनी भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार २० हजार र १६ हजार नगद हात पार्नेछन् । शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
