धरान (सुनसरी) । आयोजक नेपाल पुलिस स्कुल रातोले सातौँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा प्रभात बोर्डिङ स्कुल धरान, सुनसरीलाई १–० गोलले स्तब्ध पार्दै आयोजक नेपाल पुलिस स्कुल रातो च्याम्पियन बनेको हो ।

उपाधिसँगै नेपाल पुलिस क्लब रातोले नगद ८१ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । उपविजेता जित बुझाउन बाध्य भएको प्रभात स्कुलले नगद ४१ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो ।

नेपाल पुलिस स्कुल रातोको जितमा विकास मगरले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ७ मिनेटमा गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच पनि बिकाश नै भए । उनले नगद १ हजार ५ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल रातोको बर्चस्व कायम रह्यो । विभिन्न विधागत पुरस्कारहरूमा पनि उसैले कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक नेपाल पुलिस स्कुल रातोका सोनाहाङ राई, उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस स्कुल रेडकै सागर कार्की र सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुल रातोकै कप्तान समीर राई भए ।

उत्कृष्ट डिफेन्डरको उपाधि प्रभात स्कुलका रिदम पाण्डेले पाए । उत्कृष्ट मिडफिल्डर प्रभात स्कुलका कप्तान नेम्साङ मगर र उदयीमान खेलाडी आयोजक नेपाल पुलिस स्कुल धरान निलोका यारिन भुजेल घोषित भए । उनीहरूले जनही नगद २ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस स्कुल रातोका समीर राई चुनिए । उनले नगद ३ हजार ५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको विजेता तथा उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डीआईजी विनोद घिमिरे, धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा (राई), प्रतियोगिताका संयोजक एवं विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायु, राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालय धरानका अनुसन्धान निर्देशक एवं डीआईजी इन्द्रसिंह लामालगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

२०५८ सालदेखि सुरु भएको डीआईजीपी कप छैटौं संस्करणसम्म आयोजना भएर २०६३ पछि रोकिएको थियो । करिब १९ वर्षपछि पुनः सञ्चालनमा आएको प्रतियोगितामा आयोजक पुलिस स्कुलले पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको हो । छैटौं संस्करणसम्म आयोजना हुँदा धरान १८ स्थित डिपोट माविले ५ पटक उपाधि उचालेको थियो भने एक पटक मोरङको उर्लाबारीस्थित राधिका मावि च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *