इजिप्ट र नाइजेरिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ्न् ।
मोरोक्कोको अगादिरस्थित ले ग्रान्ड स्टेड अगाडिर रंगशालामा सोमवार राति सम्पन्न अन्तिम १६ को खेलमा इजिप्टले बेनिनलाई ३–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
इजिप्टको जितमा मरवान अत्तिया, यासेर इब्राहिम र मोहम्मद सलाहले गोल गरे । बेनिनका लागि जोडेल डोसुले गोल गरे ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा यासेर र सलाहले गोल गर्दै इजिप्टलाई क्वार्टरफाइनल पुर्याए । अब इजिप्टले क्वार्टरफाइनलमा आइभरी कोष्ट वा बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ ।
इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम रहेको छ । उसले कीर्तिमान सात पटक उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन् ।
अर्को खेलमा मोजाम्बिकलाई ४–० ले हराउँदै नाइजेरियाले अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मोरोक्कोको फेसस्थित फेज रंगशालामा सोमवार राति भएको खेलमा नाइजेरियालाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई तथा एडम लुकम्यान र एकर एडम्सले समान एक-एक गोल गरे । अब नाइजेरियाले क्वार्टरफाइनलमा अल्जेरिया वा डिआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ ।
हालसम्म माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को अन्तिम आठमा पुगिसकेको छन् ।
