विराटनगर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङले विराटनगरस्थित शहीद रंगशालामा सरसफाई अभियान सञ्चालन गरेको छ । विराटनगरको पहिचान र गौरवका रूपमा रहेको रंगशालालाई स्वच्छ, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको संघले जनाएको छ ।

सार्वजनिक खेल संरचनाको संरक्षण र सरसफाईमा सबैको साझा दायित्व हुने भएकाले रंगशालाको सरसफाईलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष अनुज बानियाले बताए । ‘खेलकुद पूर्वाधारको दीगो संरक्षणका लागि सरसफाई जस्तो आधारभूत कामबाटै सचेतना आवश्यक छ,’ उनले भने ।

सरसफाई कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका कांग्रेस उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, सहसचिव भुवनेश्वर मण्डल, संघका सल्लाहकार वसन्त अर्याल, विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपाने, विराटनगर-७ का वडाध्यक्ष मधुबाबु तिवारी तथा प्रदेश खेलकुद बोर्डकी पूर्वउपाध्यक्ष विन्ध्या कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा रंगशालाको मुख्य मैदान, दर्शक मञ्च, प्याराफिट, प्रवेशद्वार तथा वरपरको क्षेत्र सरसफाई गरिएको थियो। सहभागीहरूले खेल मैदान स्वच्छ राख्न नियमित सरसफाई र व्यवस्थापनमा स्थानीय तह, खेल संघसंस्था र सर्वसाधारणको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सार्वजनिक सम्पत्तिको संरक्षणमा नागरिकस्तरबाट देखाइएको सक्रियतालाई सकारात्मक संकेतका रूपमा उल्लेख गर्दै महानगरले पनि खेलकुद पूर्वाधारको सुधार र व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । शहीद रंगशाला विराटनगरको मात्रै नभएर प्रदेशकै गौरवका रुपमा रहेकाले संरक्षणमा पनि सबै लाग्नुपर्नेमा जोड दिए ।

संघले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र सार्वजनिक सचेतनासँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सरसफाई अभियानले खेलाडी, दर्शक तथा सर्वसाधारणमा स्वच्छ वातावरणप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *