काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको चौथो दिनपनि चार खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने दिनको पहिलो खेलमा बिहान १० बजे समूह ‘सी’ को रुकुम पश्चिम ट्रेनिङ सेन्टरले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।
जारी प्रतियोगितामा जावलाखेल पहिलो खेल खेल्दैछ । यता, पहिलो खेलमा जित निकालेको रुकुम पश्चिम लगातार दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । समूह ‘डी’ को यो खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ। कीर्तिपुर प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने आर्मी पनि लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनल पुग्ने दाउमा छ । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० सोझो सेटमा पराजित हराएको थियो ।
महिलातर्फ पनि सोमबार दुई खेल हुँदैछ । पहिलो खेलमा उपाधि आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराएका थिए ।
दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्सँग खेल्दैछ । समूह ‘बी’ मा रहेका दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए ।
आगामी पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको छ ।
