काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

जितसँगै पुलिसले ६ अंक पुर्‍यायो । पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

खिल्जीको भने यो पहिलो खेल हो । ढोरपाटनसँग मुस्किलले जित हात पारेको पुलिसलाई यसपल्ट भने त्यति संघर्ष गर्नु परेन ।

पुलिसले पहिलो सेट २५–२१ ले जितेको थियो । त्यसपछिका दुवै सेट समान २५–१६ ले आफ्नो बनायो । पुलिसले सेमिफाइनल प्रवेश गर्न अब समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *