विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा, श्रीजनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एक-एक स्वर्ण जित्न सफल भएको हो ।
आज छात्रहरूको सटपुट थ्रोमा एभरेष्ट माविका कुशल अधिकारीले स्वर्ण जित्न सफल हुनुभएको थियो भने रजत पदक ग्रेडेड माध्यमिक विद्यालयका अमृत राज साह र कास्य पदक श्रीमिल्स माध्यमिक विद्यालयका रुपेश राजवंशीले जित्नु भएको थियो ।
छात्राहरूको सटपुट थ्रोको स्वर्ण पदक एभरेष्ट माविकी आस्ना गिरी, रजत पदक श्रीजनता नमुनाकी बबिता राणा र कास्य पदक आदर्श माविकी रानी कुमारी सिंहले जित्न सफल हुनुभएको थियो ।
त्यस्तै, छात्रहरूको १५०० मिटर रेसमा श्री जनता नमुनाका समिर राजवंशीले स्वर्ण जित्दा श्रीसत्यनारायण माध्यमिक विद्यालयका प्रियांशु साहले रजत र आदर्श माध्यमिक विद्यालयका गगन काजुन लिम्बूले कास्य पदकमा चित्त बुझाउनु परेको थियो ।
छात्राहरूको १५०० मिटरको रेसमा भने आदर्श माध्यमिक विद्यालयका अर्चना कुमारी राजवंशीले स्वर्ण, श्रीजनता नमुना माविकी बबिता राणाले रजत र श्रीसत्यनारायण माविकी आँचल मण्डलले कास्य पदक जित्नु भएको थियो ।
प्रतियोगिताको पहिलो दिन भलिबल, कबड्डीलगायत विभिन्न ट्रयाक एण्ड फिल्ड इभेन्टका प्रारम्भिक चरणका खेलहरू समेत सम्पन्न भएको एभरेष्टका प्राचार्य टिकाराम पुरीले जानकारी दिनु भयो ।
पुस ९ देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ भने प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ ।
