सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा रहेका छन् ।
गोकर्ण गल्फ क्लबमा राहुलले ६-अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन् । जयराम १-अन्डर ७१ को स्कोरमा दोस्रो स्थानमा छन् । अर्का एमेच्योर साम डौबलार्ड इभन-पार ७२ सहित तेस्रो स्थानमा रहे ।
१-ओभर ७३ को स्कोरमा भुवन कुमार रोक्का, सबिन सापकोटा, भुवन नगरकोटी, दिनेश प्रजापति, प्रदिप कुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्तरुपमा चौथो स्थान बाँडे ।
यसैगरी २-ओभर ७४ को स्कोरमा बलभद्र राई, तोरण विक्रम शाही, दीपक मगर, टासी घले र एमेच्योर कबि थापा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् । टासीले आज पाँचौं होलमा होल-इन-वानको सफलता प्राप्त गरे ।
दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्ने क्रममा राहुलले फ्रन्ट र ब्याक नाईन दुवै ३-अन्डर ३३ मा सकाए । उनले दोस्रो, तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि १०औं, १२औं र १५औं होलमा पनि बर्डीको सफलता प्राप्त गरे ।
जयरामले दिनको सुरूवात बोगीबाट गरे । यसपछि सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १४ औं होलमा डबल बोगी र १६ औं होलमा बोगी खेपे । तर ११औं, १७औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे ।
एमेच्योर सामले तेस्रो र नवौं होलमा बर्डी प्रहार गरेपनि सातौ होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरे । उनले फ्रन्ट नाइन १-ओभर ३७ खेले । यसपछि १२ औं र १५ औं होलमा एक-एक सट बचाए भने १७ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे ।
नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङले भने ५-ओभर ७७ को खराब प्रदर्शन गरे । पशुपति शर्माले स्वास्थ्यको कारण आठौं होलपछि खेल त्यागे ।
दोस्रो दिनको समाप्तीमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन् । उनीहरुबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २६ एमेच्योर गरी कुल ६३ खेलाडीको सहभागिता रहेको छ ।
यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन् ।
