एभरेष्ट भलिबल क्लबले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सान्त्वना जित हासिल गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सम्पन्न समूह ‘ए’ को खेलमा चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले जारी प्रतियोगिता सकाएको छ ।
लिग चरणका तीन मध्य एक खेल जित हात पारेको एभरेष्ट क्वालिफायर भएको छ ।
एभरेष्टले २५–१४, २५–५ र २५–११ ले सहज जित हात पारेको हो । यो सँगै महिलाको समूहचरणको सबै खेल सकिएको छ ।
अब शुुक्रबार हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता न्युु डायमण्ड स्पोर्ट्स क्लबले समूह ‘बी’ को उपविजेता एपीएफ क्लब तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।
आज पुरुषतर्फ लिग चरणका अन्तिम २ खेलबाट क्वाटरफाइनलमा समीकरण पूरा हुनेछ ।
