साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेकाे छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
जितसँगै हेल्प नेपालले ३ अंक पुर्यायो । पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो । मणिमुकुन्दको भने यो पहिलो खेल हो ।
पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो । तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो । खेलको प्लेयर अफ दि म्याच हेल्प नेपालका मुवासर राजा घोषित भए ।
