काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो । यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो भयो ।

पुलिसले ६ स्वर्ण, पाँच रजत र चार कांस्य पदक प्राप्त गर्यो। तेस्रो स्थान हात पारेको सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक प्राप्त गर्यो । यसैगरी चिल्ड्रेनतर्फ ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङले पहिलो स्थान हात पार्यो । स्वस्तिकले सात स्वर्ण, एक रजत र चार कांस्य पदक प्राप्त गर्यो ।

दोस्रो भएको जैशीदेवलले दुई स्वर्ण र एक कांस्य पायो । तेस्रो स्थान हासिल गरेको गोदावरी डोजाङले एक स्वर्ण र तीन कांस्य पदक प्राप्त गर्यो । यस्तै क्याडेटमा पोखरी तेक्वान्दो डोजाङ पहिलो भयो । पोखरीले दुई स्वर्ण, एक रजतर तीन कांस्य जित्यो ।

दोस्रो स्थान हात पारेको स्वस्तिक डोजाङले एक स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हात पारेको गोदावरी इन्टरनेसनल फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य जित्यो । जुनियरमा पहिलो भएको बिजेश्वरी सैनिक स्कुलले तीन स्वर्ण र एक कांस्य, दोस्रो भएको गोर्खाली डोजाङले दुई स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हासिल गरेको खुदुनाबारी डोजाङले एक स्वर्ण र एक कांस्य पदक जित्यो ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियरतर्फको पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी चिन्ड्रेनको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट भए । यसैगरी क्याडेटको पुरुषमा पोखरी डोजाङ‌का करण यादव र महिलामा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट भए । यसैगरी जुनियर पुरुषमा जैशीदेवल डोजाङ‌का राहुल हाङ लिम्बू र महिलामा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

च्याम्पियनसिपको विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

गत मंसिर १५ गतेदेखि आयोजना भएको च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको थियो । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *