काठमाडौँ । स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेका छन् ।

स्किब्सले पिपुल्स एकेडेमीलाई २२-२० ले पराजित गर्यो । स्किब्सका सोहन ठकुरीले १३ अंक योगदान गरे । रिजन थापाको ६ अंक सहयोगमा राइजिङ स्टारले आयोजक रेडियन्ट पब्लिक ‘बी’ लाई २४-९ ले हरायो ।

सोही स्पर्धामा विस्डमले एलेन मेमोरियललाई २०-९ तथा केभीसीले श्री नवीन ज्योतिलाई २८-१७ ले पाखा लगाए । विस्डमका सौगातले १० तथा केभीसीका आरोनलाल श्रेष्ठले १५ अंक जोडे ।

जुनियर ब्वाइजमा नवीन ज्योतिले गोल्डेन फ्लावरलाई १३-५ तथा एआईले केभीसीलाई ६-२ ले पन्छाए । नवीन ज्योतिका युनिकेश तामाङ ४ तथा केभीसीका आरुस बुढाथोकीले समान ४-४ स्कोर गरे ।

स्युचारटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको सिनियर गल्सको प्रतिस्पर्धामा गोल्डेन फ्लावरले केभसीलाई २४-७ तथा नवीन ज्योतिले न्यु जेनिथलाई २१-१० ले पराजित गरे। गोल्डेन फ्लावरकी सिमरन पाण्डेले १२ तथा नवीन ज्योतिकी अविना दानीले १० स्कोर गरे ।

प्रतियोगिताको रेडियन्टका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. लक्ष्मण सिंह कुँवर, नागर्जुन नगरपालिका वडा ९ का सदस्यद्वय लक्ष्मण बुढाथोकी र राजकुमार भट्टराई तथा प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । मंसिर १० गतेसम्म हुने प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्समा समान १२-१२ टिम सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *