काठमाडौं । श्रृजना ज्ञान सागर र ल्यान्डमार्क एकेडेमीले तेश्रो हिसान फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा श्रृजना ज्ञान सागर र गल्समा ल्यान्डमार्क च्याम्पियन बनेका हुन् ।

शेषमतिस्थित सेक्रेड हार्टमा भएको ब्वाइजको फाइनलमा श्रृजना ज्ञान सागरले कौशललाई ३-१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि विनोद तामाङ, लोकश बोहरा र अंगड पाख्रिनले गोल गरे । कौशलका विराज गुरुङले सान्त्वना गोल फर्काए ।

गल्सको उपाधि भिडन्तमा ल्यान्डमार्कले हिमरश्मिलाई २-० गोलले हरायो । दुवै गोल साजन खत्रीबाट सम्भव भयो । ब्वाइज गल्स दुवैमा प्रारम्भ वल्ड स्कुल तेश्रो बन्यो । ब्वाइजमा कौशलका अनिल गुरुङ उत्कृष्ट खेलाडी, श्रृजनाका रविन तामाङ उत्कृष्ट गोलरक्षक र प्रारम्भका युकेश नेगी सर्वाधिक गोलकर्ता बने । गल्समा प्रारम्भकी आकृति तामाङ उत्कृष्ट खेलाडी, हिमरश्मिकी कुसुम गुरुङ उत्कृष्ट गोलरक्षक र ल्यान्मार्ककी साजन खत्री सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्य, तार्केश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढागोकी, प्याब्सनका केन्द्रीय सदस्य लोकेन्द्रबहादुर खड्का, तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुन, सचिव कमलप्रसाद ज्ञवाली, सह-सचिव एवं प्रतियोगिता संयोजक बद्रीनाथ भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

‘सर्वाङ्गीन विकासको एउटा पक्ष : खेलकुद’ भन्ने नारासाथ आयोजित दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *