काठमाडौं । आयोजक रेडियन्ट पब्लिकले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार जित हात पारेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७-१३ ले पराजित गर्यो । रेडियन्टको जितमा सेजल रोक्काले ५ अंक योगदान गरिन् । सोही स्पर्धामा हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले एलआरआईलाई २४-८ ले हरायो ।
सिनियर ब्वाइजमा एलआरआईले राइजिङलाई २५-२३, कश्यपले आयोजक रेडियन्ट ‘बी’ लाई ३६-२८, निःसर्गले नवीन ज्योतिलाई २८-२४ र स्वर्णिमले एलेन मेमोरियललाई २३-१२ ले पाखा लगायो । एलआरआईका सुजल मडईंले १७, कश्यपका इसान तिमिल्सिनाले २१, निःसर्गका सामान्य श्रेष्ठले १२ र स्वर्णिमका निश्चलले ७ स्कोर गरे ।
जुनियर ब्वाइजमा विस्डमले केभीसीलाई २३-११, नवीन ज्योतिले कश्यपलाई १३-४ र इडेन ब्रिज एकेडेमी (इबीए) ले निःसर्गलाई ३२-६ ले पन्छाए । विस्डमका साहिलले ११, नवीन ज्योतिका युनिहेस तामाङले ४ र इबीएका प्रसिक श्रेष्ठले १० अंक बटुले ।
