पथरी (मोरङ) । झापा-११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै न्यु रोड टिम (एनआरटी) अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलाबार पथरी रंगाशाला भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा झापा-११ लाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

एनआरटीका लागि सरोज घिसिङ, सनम लिम्बु, रोहन खड्गी र आकाश राईले पेनाल्टीमा गोल गरे । असिम राईको प्रहार झापा-११ का गोलरक्षक सन्दिप लिम्बुले रोके ।

झापा-११ का लागि प्रदिप बुढाथोकी र पेमा तामाङले मात्र पेनाल्टीमा गोल गरे । नवयुग श्रेष्ठ र पुजन श्रेष्ठ दुबैको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाए ।

खेलको म्यान अफ दि म्याच एनआरटीका गोलरक्षक प्रमिजय गच्छदार घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । एनआरटीले अब फाइनल प्रवेशका लागि आयोजक इन्ट्रा पथरी-११ फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल सलहेश युवा क्लब र पाँचथर क्लबबीच हुनेछ । कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *