शिवसताक्षी (झापा) । विभागीय टोली नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई १-० गोलले पराजित गरेको हो ।

पुलिसलाई जित दिलाउन मिना देउवाले निर्णायक गोल गरिन् । उनले खेलको २१औं मिनेटमा गोल गरेकी हुन् । उपाधिसहित पुलिसले नगद १० लाख १० हजार पाएको छ । उपविजेता बनेको एपिएफले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलको प्लेयर अफ द म्याच पुलिसकी पूजा राना घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । प्रतियोगिता भरीमा उनले सात गोल गरेकी थिइन् । उनले सार्वधिक गोलकर्ताको पुरस्कार बापत २५ हजार र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बापत १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी मनमाया दमाई, उत्कृष्ट मिडफिल्डर एपिएफकै रेनुका नगरकोटी ,उत्कृष्ट फरवार्ड पनि एपिएफकै अनिता बस्नेत, उत्कृष्ट प्रशिक्षक पुलिसका भोला सिलवाल र उदयमान खेलाडी आर्मीकी जेनिफर राना मगर घोषित भए ।उनीहरूले जनही नगद २५ हजार रुपैयाँ पाए ।

कार्तिक १७ गतेबाट सुरु भएको गोल्डकपमा एक विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *