बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ ।

ढाकास्थित शहिद सुहृवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धातमक बनेको पहिलो सेट टाईब्रेकमा २९-२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १-० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै नेपालले २-० को अग्रता बनाएको थियो ।

तर तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा टाईब्रेकमा ३७-३५ ले माल्दिभ्सले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमनको प्रयास गरेको थियो । तर चौथो सेटमा सुरुवात देखि नै हावी बनेको नेपालले उक्त सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक पराजित गरेको हो। लिग चरणमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो। लिग चरणमा नेपाल एक खेल जितेर पाँचौ तथा सबै पाँच खेल हारेको माल्दिभ्स छैटौं भएको थियो ।

लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग भने हार व्यहोरेको थियो । आजै तुर्कनेमिस्तान र अफगानिस्तानबीच उपाधिका लागि खेल हुनेछ यस्तै आयोजक बंगलादेश र श्रीलंका तेस्रो स्थानका लागि भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *