मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा सुनसरी रामधुनीको पंचायन एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा मोरङको केराबारी एफसीलाई ४-० ले पराजित गर्दै पंचायनले अन्तिम चारमा स्थान बनाएको हो ।
पंचायनको जितमा पुजन चौधरीले २ तथा अनिश आरडी र सन्दिप लिम्बुले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच पंचायनका दुई गोलकर्ता पुजन चौधरी चुनिए । उनले नगद २१०० सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबारको चौथो क्वाटरफाइनल सुनसरी इटहरीको तालतलैया एफसी र आयोजक नव युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नव युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । असोज १८ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
