नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा प्लेइङ-११ बाहिर रहनुको कारण क्रिकेट संघ नेपाल (क्यान) सँगको विवाद रहेको खुलेको छ ।

खेलपछि पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीपले व्यक्तिगत कारणले खेल गुमाएको बताएका थिए ।

तर, क्यान स्रोतले दिएको जानकारी अनुसार, सन्दीपले टिमको मुख्य प्रायोजक ‘नासा सेक्युरिटी’को लोगो अंकित जर्सी लगाउन अस्वीकार गरेका कारण उनी प्लेइङ-११ मा परेका थिएनन् ।

सन्दीप हाल क्यानको केन्द्रीय सम्झौतामा आवद्ध छैनन् । यही कारण उनले टिमको प्रायोजक संस्थासँग व्यक्तिगत सम्झौता गरिनुपर्ने माग राखेका थिए । तर क्यानले उक्त माग स्वीकार नगरेपछि सन्दीपले टिमको जर्सी लगाएर खेल्न अस्वीकार गरेका हुन् ।

‘सन्दीपले पहिल्यै नै नासा सेक्युरिटीले आफूलाई व्यक्तिगत रूपमा सम्झौता गर्नुपर्ने बताएका थिए,’ स्रोतले भन्यो, ‘तर त्यो नमानिएपछि उनी बेञ्चमै सीमित भए ।’

युनिटी कप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० मा सन्दीपको नाम वैकल्पिक खेलाडीको सूचीमा पनि समावेश गरिएन । यसअघि सार्वजनिक गरिएको टोलीमा उनको नाम समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *