विराटनगर कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ । विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

विराटनगर-६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ । लिग चरणका खेलहरू ‘सुपर ६’ (प्रति खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरका हुनेछन् ।

यो प्रतियोगिता केवल क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तार (कर्पोरेट नेटवर्किङ) को साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए ।

प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको छ ।

खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू रहनेछन् । यस प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

देशभरका कर्पोरेट जगतलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्ने यस महाकुम्भमा सहभागिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *