मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब, उर्लाबारी, मोरङ फाइनलमा पुगेको छ ।
श्री सौँठा माविको खेल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा देउराली फुटबल क्लब, चुलाचुली, इलामलाई ३-१ गोलअन्तरले पराजित गर्दै उर्लाबारी उपाधि नजिक पुगेको हो ।
उर्लाबारीलाई जित दिलाउन आयुस श्रेष्ठ र रेजिन सुब्बाले गोल गरे । रेजिन नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । देउरालीका लागि श्याम घिमिरेले गोल फर्काए ।
खेलको म्यान अफ द म्याच उर्लाबारीका रेजिन सुब्बा भए । उनलाई एक हजार एक सय नगदसहित मेडल प्रदान गरियो । अब उर्लाबारीले भोलि बुधबार उपाधिका लागि मिक्लाजुङको टाडी स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका- ६ को आयोजना तथा नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा कुल आठ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक रतुवामाई नगरपालिका- १० मा अवस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कुल रहेको छ भने प्रायोजकमा काजी स्टोरका सञ्चालक चोगेन्द्रबहादुर खड्का छन् ।
