मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगितामा टाडी स्पोर्टिङ क्लब, मिक्लाजुङ, मोरङ फाइनलमा पुगेको छ ।
श्री सौँठा माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पुष्पान्जली फुटबल क्लब, भाउन्ने, मोरङलाई २-१ ले पन्छाउँदै टाडी फाइनलमा पुगेको हो ।
२५-२५ मिनेटको खेलमा अग्रता भने पुष्पान्जलीले पहिलो हाफको १२औं मिनेटमा अग्रता लिएको थियो । पुष्पान्जलीले सविन राईको गोलमा अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा टाडीका प्रमोद नेपालीले बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ११औं मिनेटमा अनिल तामाङले गोल गर्दै टाडीलाई २-१ को जित दिलाए । खेलको म्यान अफ द म्याच टाडीका प्रमोद नेपाली भए । उनलाई एक हजार एक सय नगदसहित मेडल प्रदान गरियो ।
प्रतियोगितामा भोलि देउराली फुटबल क्लब, चुलाचुली, इलाम र उर्लाबारी फुटबल क्लब, उर्लाबारी, मोरङबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका- ६ को आयोजना तथा नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा कुल आठ टोलीको सहभागिता छ ।
असोज १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक रतुवामाई नगरपालिका- १० मा अवस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कुल रहेको छ भने प्रायोजकमा काजी स्टोरका सञ्चालक चोगेन्द्रबहादुर खड्का छन् ।
