काठमाडौं । नेपाल तेक्वान्दो संघ (एनटीए) को नीति तथा वार्षिक कार्ययोजना अनुरूप आयोजना हुने एनटीए लिगको चौथो संस्करण आगामी बिहीबारदेखि (भदौ १२ गतेदेखि १५ गतेसम्म) हुने भएको छ ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको हो । आयोजक संघका अनुसार यस वर्षको लिग ऐतिहासिक रूपमा सबैभन्दा ठूलो सहभागिता भएको तेक्वान्दो प्रतियोगिता मानिएको छ ।
चार दिनसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय हलमा आयोजना हुने प्रतियोगितामा ५४५ महिला तथा ९५० पुरुष गरी कुल १४९५ जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता ग्यरोगी (लडाइँ) र पुम्से (प्रदर्शन) गरी ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता लिग चरणमा सञ्चालन गरिने भए पनि खेलाडीको वर्ग तथा वरियताअनुसार खेल तालिका मिलाइने आयोजकले जनाएको छ । यसमा राष्ट्रिय टिमका खेलाडीहरू समेत सहभागी हुने भएकाले खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
सफल र पारदर्शी प्रतियोगिता संचालनका लागि ४० जना निर्णायक तथा प्राविधिक अधिकारी परिचालन गरिएको छ । संघका अनुसार यस प्रतियोगिताले राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर दिनेछ भने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न सहयोग पुग्नेछ ।
