काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ ।

पुरुष तथा महिला दुबै विधाका गरि ६ फरक उमेर समुहमा हुने प्रतियोगितामा युवा – १८, १६, १४, १२, १० र ८ बर्ष मुनिका खेलाडीहरुले सहभागी जनाउने छन् ।

नेपाल बुद्धिचाल महासंघको चेस टालेण्ट हण्टका रुपमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका ५ सय भन्दा बढी विद्यार्थी खेलाडीहरुको सहभागी रहने प्रतिस्पर्धा काठमाडौको बुद्धनगर स्थित क्वालिटी बाङ्क्वेटमा संचालन हुनेछ । 

कूल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समुहका विजेताले जनही १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार नगद, प्रमाणपत्र तथा मेडल हात पार्ने छन् । 

यस्तै १२० जना खेलाडीहरु पुरस्कृत हुने च्याम्पियनसिपमा चौथो देखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पुरस्कार हात पार्ने छन् ।

यस प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहिबार नेपाल आउने भएका छन् ।

नेपालको बुद्धिचाल खेल बिकासमा टेवा पुर्याउने हेतुले विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने तय भएको छ । 

महासंघका अध्यक्ष हेराकाजी महर्जनले भिक्टोर बोलोगनको नेपाल आगमन खास अर्थ रहने जानकारी गरेका छन् । नेपालमा चेस बिकासकालागि काजकिस्तान चेस संघसंग महासचिव धर्म बहादुर लामाले समन्वय गरेका हुन् । उनले खेलाडी प्रशिक्षण तथा प्रतियोगिता सहभागी निःशुल्क रहने बताए ।

दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता संचालन गर्न लाग्ने १० लाख खर्च मध्ये कजाकिस्तान चेस फेडेरशनले नगद पुरस्कार सहयोग गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद परिषदले समेत आर्थिक सहयोग गर्ने भएको छ ।
६ विधाका खेल सञ्चालन गर्न मंगलबार नेपाल बुद्धिचाल महासंघ र काजाकिस्तान चेस महासंघका बीचमा हस्ताक्षर भएको छ । 

यसैबीच नेपाली चेस खेलाडीहरुलाई प्रशिक्षण दिन काजाकिस्तानका ईन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेको छ । पन्ध्र दिनसम्म काठमाडौको दरवारमार्ग स्थित होटल उड ल्याण्डमा संचालन हुने चेस प्रशिक्षणमा नेेपालका २० जना राष्ट्रिय खेलाडीहरु लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *