अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवन राम श्रेष्ठले एसिया ओलम्पिक परिषद्को छैटौँ खेलाडी फोरममा सहभागी हुन जान लागेका दुई खेलाडीलाई बिदाइ गरेका छन् ।
कजाकस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म आयोजना हुने उक्त फोरमका लागि टेनिसकी महिका राणा र बास्केटबलका विजय बुर्जा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
खेलाडीलाई बिदाइ गर्दै श्रेष्ठले फोरमबाट प्राप्त ज्ञान र अनुभव नेपालका अन्य खेलाडीसँग बाँड्न प्रोत्साहित गर्नुभयो। उहाँले दुवै खेलाडीलाई शुभकामनासहित सफलताको कामना पनि गरे ।
बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीम सिंह गुरुङको पनि उपस्थिति रहेको थियो ।
