लाजिम्पाटस्थित आइरिश पबले शनिबार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ ।
कार्यक्रमको सुरुवात धाँटसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो, जसमा विशेष आमन्त्रित तथा उनका समर्थक सहभागी भएका थिए । त्यसपछि सर्वसाधारणलाई खुला गरी राष्ट्रिय गौरव बनेका धन्तको जितको खुसी सामूहिक रूपमा मनाइएको थियो ।
खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ । यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको पब वस्थापनले जनाएको छ ।

कोष संकलनमा योगदान पुऱ्याउने संस्थाहरूमा जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हेली, होलिडे इन एक्सप्रेस, रेब, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउस प्रमुख छन् ।
त्यसैगरी कार्यक्रमलाई चाटाइम, डाबर रियल फ्रुट पावर, जुजु वेयर्स र एक्स्ट्रीम इनर्जी ड्रिङ्क ले प्रायोजन गरेका थिए ।
“रविन्द्र ढाँटले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन् । आफ्नै खेलाडीलाई सम्मान गर्न र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो । यस कार्यक्रममा समन्वय पुऱ्याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं,” आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले बताए ।
लाजिम्पाटको मुटुमा रहेको आयरिश पब काठमाडौंको लोकप्रिय गन्तव्य हो, जहाँ स्वादिष्ट खानेकुरा, पेयपदार्थ र मनोरञ्जनको विशेष माहोल पाइन्छ । विविध कार्यक्रम आयोजना गर्ने परम्पराका कारण यो स्थान स्थानीय तथा विदेशी दुवैका लागि प्रिय बनेको छ ।
