विराटनगर । चौथो एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बाल आदर्श स्कुल इटहरीले जितेको छ ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा बिहिवार भएको फाइनलमा दिल्ली पब्लिक स्कुल विराटनगरलाई २-० गोलले पराजित गर्दै बाल आदर्श स्कुलले उपाधि उचालेको हो ।

जितसँगै बाल आदर्श स्कुलले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उप विजेतामा चित्त बुझाउन बाध्य भएको दिल्ली पब्लिक स्कुलले १५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

बिहिवार नै भएको तेस्रो स्थानको लागि भएको खेलमा साई चिल्ड्रेन एकेडेमी इटहरीले डन बस्को स्कुल विराटनगरलाई पराजित गर्यो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बाल आदर्श स्कुलका सुमन चौधरी, उत्कृष्ट डिफेन्डर सनसाईन स्कुलका अनिश खड्का, उत्कृष्ट मिडफिल्डर दिल्ली पब्लिक स्कुलका आयुस सहनी, उत्कृष्ट फरवार्ड साई चिल्ड्रेन एकेडेमीका विशेष सरदार, सर्वाधिक गोलकर्ता दिल्ली पब्लिक स्कुलका अमन खवास र उत्कृष्ट प्रशिक्षक बाल आदर्श स्कुलका निरज चौधरी घोषित भए ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डन बस्को स्कुलका प्रकाश कामत घोषित भए । उनले एक थान स्पोर्टी साइकल प्राप्त गरे ।

विजेताहरुलाई विराटनगर महानगरपालिका वडा नम्बर १ का वडा काजी बहादुर बस्नेत, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष धन कुमार लामा लगायतले पुरस्कार प्रदान गरे ।

पोखरीया युथ केयर एकेडेमी विराटनगरको आयोजना तथा वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा असार ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ३९ विद्यालयको सहभागिता रहेको थियो ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलको मुख्य प्रायोजन तथा मेरिल्यान्ड कलेज विराटनगरको सह प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *