विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मंगलबार क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा मंगलबार भएको खेलमा डन बस्को स्कुल, बाल आदर्श स्कुल, दिल्ली पब्लिक स्कुल र साई चिल्ड्रेन एकेडमी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा डन बस्को स्कुले सनसाईन स्कुललाई १-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । डन बस्कोलाई जित दिलाउन प्रकाश कामतले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच डन बस्कोका तनुज राजवंशी घोषित भए ।

त्यसैगरी दोस्रो क्वार्टरफाइनलमा बाल आदर्श स्कुलले राधा कृष्ण माविलाई १-० गोलले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्यो । बाल आदर्शको जितमा म्यान अफ द म्याच साहिद चौधरीले निर्णायक गोल गरे ।

तेस्रो क्वार्टरफाइनलमा दिल्ली पब्लिक स्कुलले सरस्वती माविलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलको टिकट पक्क गर्यो । दिल्ली पब्लिकका लागि अमन खवासले दुई तथा जेनिल बिष्टले एक गोल गरे । सरस्वतीका लागि भने रोजल सुनुवारले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता अमन खवास घोषित भए ।

त्यसैगरी मंगलबार नै भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा साई चिल्ड्रेन होमले स्मृति स्कुललाई १-० गोलले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गर्यो । साई चिल्ड्रेन होमका लागि सुदिप सरदारले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच साई चिल्ड्रेन होमका सुजन बस्नेत चुनिए ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनलका दुबै खेल आज बुधबार हुनेछन् । पहिलो सेमिफाइनल दिउँसो २:३० बजे डन बस्को स्कुल र दिल्ली पब्लिक स्कुलकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल बाल आदर्श स्कुल र साई चिल्ड्रेन होमकाबीच हुनेछ ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता असार ८ गतेदेखि सुरु भएको हो ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार १९ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *