विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार ४ विद्यालय विजयी भएर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको खेलमा डन बस्को स्कुल, राधाकृष्ण मावि, दिल्ली पब्लिक स्कुल र साई चिल्ड्रेन होम विजयी भएर अन्तिम आठमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो खेलमा डन बस्को स्कुले बिकेभिएम स्कुललाई १-० गोलले पराजित गर्यो । डन बस्कोलाई जित दिलाउन प्रकाश कामतले निर्णायक गोल गरे । निर्णायक गोलकर्ता प्रकाश नै खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यसैगरी खेलमा राधाकृष्ण माविले सहिद स्मृति आवशीयलाई १-० गोलले हरायो । राधाकृष्णको जितमा म्यान अफ द म्याच निशान चौधरीले निर्णायक गोल गरे ।

तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले जनता नमुना माविलाई २-० गोलले पाखा लगायो । दिल्ली पब्लिकका लागि दुबै गोल अमन खवासले गरे । खेलको म्यान अफ दि म्याच भने दिल्ली पब्लिकका आयुस सहनी घोषित भए ।

त्यसैगरी आजै भएको चौथो तथा अन्तिम खेलमा साई चिल्ड्रेन होमले सत्यनारायण माविलाई १-० गोलले स्तब्ध बनायो । चिल्ड्रेन होमका लागि सुशान्त चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच साई चिल्ड्रेन होमका सुदिप सरदार चुनिए ।

प्रतियोगितामा भोलि मंगलबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । खेलतालिका अनुसार चारवटै क्वार्टरफाइनल भोलि नै हुनेछन् । पहिलो क्वार्टरफाइनल खेलमा डनबस्को स्कुल विराटनगर विरुद्ध सनसाईन सेकेन्डरी स्कुल विराटनगर, दोस्रो क्वार्टरफाइनल खेलमा राधाकृष्ण मावि विराटनगर विरुद्ध बाल आदर्श स्कुल इटहरी, तेस्रो क्वार्टरफाइनल खेलमा दिल्ली पब्लिक स्कुल विराटनगर विरुद्ध सरस्वती मावि विराटनगर, चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा साई चिल्ड्रेन होम इटहरी र स्मृति इङ्लिस स्कुल निमुवाबीच हुनेछ ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता असार ८ गतेदेखि सुरु भएको हो ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार १९ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *