चीनमा आयोजना हुने १२ औं एसियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उसु टोली बुधबार चीन प्रस्थान गरेको छ । एसियन उसु महासंघको आयोजनामा जुलाई २३ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी सहभागी हुँदैछन् ।

टोलीको नेतृत्व टिम कोच प्रेमबहादुर विकले गर्दै छन् । नेपाली टोलीले सान्साउ र थाउँलु विधामा प्रतिस्पर्धा गर्नेछ । पुरुष तर्फ ४८ केजी तौलसमूहमा प्रदीप विष्ट, महिला तर्फ ४८ केजीमा सरिता लवारले सान्साउ विधामा प्रतिस्पर्धा गर्नेछन् भने थाउँलु विधामा एलिस मरिकले नानछाङ, नानगुन र नानताओ इभेन्टमा प्रस्तुत हुनेछन् ।

उक्त प्रतियोगिता २०२६ मा सेनेगलको डकारमा हुने युथ ओलम्पिकको छनोट चरण पनि हो । यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू युथ ओलम्पिकमा छनोट हुने नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए ।

च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूलाई सागका स्वर्ण पदक विजेता एवं अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लुएफ) का कोच जुनी राईले २ महिनासम्म विशेष प्रशिक्षण दिएका थिए ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल उसु महासंघका वरिष्ठ उपाध्यक्ष विक्रम सिटौला, महासचिव ल्हाक्पा छिरिङ लामा, सचिव तथा अन्तर्राष्ट्रिय निर्णायक गोविन्द बहादुर शाही, र सचिव एवं आईडब्लुएफ कोच निकेश श्रेष्ठले एक विशेष कार्यक्रमबीच बिदाई गरे । नेपाली टोली जुलाई ३० तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *