अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहिवार राति ओरल्याण्डोमा भएको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै सिटी नकआउट चरणमा प्रवेश गरेको हो ।

सिटीको जितमा जेरेमी डोकु, एर्लिङ हालान्ड, साभिन्हो र फिल फोडेनले समान १-१ गोल गरे । सिटीले अर्को एक गोल गरे भने अर्को गोल आत्मघाती उपहार पाएको थियो ।युभेन्ट्सका लागि दुसान भ्लाहोभिक र तियन कोपमेइनर्सले समान १-१ गोल गरे ।

खेलको नवौं मिनेटमा डोकुको गोलमार्फत सिटीले अग्रता लिएको थियो । त्यसको २ मिनेटपछि नै युभेन्ट्सका लागि तियन कोपमेइनर्सले बराबरी गोल फर्काए ।

खेलको २६औं मिनेटमा युभेन्ट्सका पियरे कालुलुबाट आत्मघाती गोल भएपछि सिटी २-१ ले अघि बढ्यो । ५२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए । ६९औं मिनेटमा फोडेनले सिटीका लागि चौथो गोल गरे ।

साभिन्होले ७५औं मिनेटमा गोल गर्दै सिटीलाई ५-१ ले अगाडि बढाए । ८४ औं मिनेटमा भ्लाहोभिकले एक गोल फर्काए पनि युभेन्ट्सको हारको टार्न सकेनन् ।

यस जितसँगै म्यानचेस्टर सिटी समूह ‘जी’ मा शतप्रतिशत जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ। युभेन्ट्स भने दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ।

यही समूहको अर्को खेलमा अल अइन एफसीले वाइदादलाई २-१ गोलअन्तरले हरायो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *