विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बुधबार ४ विद्यालय विजयी भएका छन् ।
विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको चौथो दिनको खेलमा अर्पण सेकेन्डरी बोर्डिङ स्कुल, दिल्ली पब्लिक स्कुल, स्मृति स्कुल र शारदा बोर्डिङ स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् ।
पहिलो खेलमा अर्पण सेकेन्डरी बोर्डिङ स्कुलले विराट शिक्षा निकेतनलाई १-० गोलले हरायो । अर्पणका लागि म्यान अफ दि म्याच राजन थापाले निर्णायक गोल गरे ।
त्यसैगरी दोस्रो खेलमा दिल्ली पब्लिक स्कुलले दर्पण स्कुललाई ३-० गोलले पराजित गर्यो । दिल्ली पब्लिकका लागि अमन खवासले दुई तथा जेनिल बिष्टले एक गोल गरे । खेलको म्यान अफ दि म्याच दिल्ली पब्लिकका जेनिल बिष्ट घोषित भए ।
तेस्रो खेलमा स्मृति स्कुलले युनिक एकेडेमीलाई २-१ गोलले पाखा लगायो । स्मृतिलाई जित दिलाउन सौगात चौधरीले दुई गोल गरे । युनिकका लागि रोहन सरदारले एक गोल गरे । खेलको म्यान अफ दि म्याच स्मृतिका दुई गोलकर्ता सौगात चौधरी घोषित भए ।
आजै भएको चौथो तथा अन्तिम खेलमा शारदा बोर्डिङ स्कुलले वीरेन्द्र माविलाई १-० गोलले पराजित गर्यो । शारदाका लागि म्यान अफ दि म्याच समिर आलमले निर्णायक गोल गरे ।
प्रतियोगिताअन्तर्गत भोलि बिहिवार ३ खेल हुनेछन् । पहिलो खेलमा इडेन बोर्डिङ स्कुल विराटनगर र मदरल्यान्ड बोर्डिङ स्कुल विराटनगर, दोस्रो खेलमा सरस्वती मावि विराटनगर र पोल स्टार स्कुल विराटनगर तथा तेस्रो खेलमा सत्यनारायण मावि विराटनगर र सरस्वती मावि झोरहाट भिड्नेछन् ।
वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो । प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।
