म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा एएफसी बर्नमाउथलाई ३-१ ले हराउँदै सिटीले च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको हो ।

इतिहाड स्टेडियममा घरेलु टोली सिटीलाई जित दिलाउन ओमार मारमुस, बर्नान्डो सिल्भा र गोन्जालेजले गोल गरे । बर्नमाउथका लागि ड्यानियल जाबिसनले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा मारमुसको गोलबाट सिटीले अग्रता लिएको थियो । ३८औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा माटेओ कोभ्यासिस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।७३औं मिनेटमा बर्नमाउथका लेविस कुक पनि रातो कार्ड खाँदै बाहिरिएपछि मैदानमा दुवै टोलीको १०-१० खेलाडी भएको थियो ।  

८९औं मिनेटमा गोन्जालेजले सिटीका लागि तेस्रो गोल गरे । इन्जुरी समयको छैटौं मिनेटमा बर्नेमाउथका जाबिसनले सान्त्वना गोल फर्काए ।

सिटीले यस सिजनको अन्तिम होम म्याच खेल्दा सो खेल मिडफिल्डर केभिन डि ब्रुयनाका लागि अन्तिम घरेलु खेल थियो । उनी यो समर विन्डोमा क्लब छाड्दै छन् ।

सिटीका अर्का मिडफिल्डर रोड्री लामो समयपछि बेञ्चबाट मैदानमा फर्किए । गत सेप्टेम्बरमा उनको दाहिने खुट्टाको लिगामेन्टमा चोट लागेको थियो ।

लिगमा सबै टिमले ३७/३७ खेल खेलिसकेका छन् । ३७ खेलपछि सिटीको ६८ अंक पुगेको छ । दोस्रो स्थानको आर्सनलसँग ७१, चौथो न्यूकासल, पाँचौं चेल्सी र छैटौँ एस्टन भिल्लासँग समान ६६ अंक छ ।

लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ । तर, च्याम्पियन्स लिगको लागि शीर्ष पाँच टिम छनोट गर्न बाँकी छ । अब सबै टिमले अन्तिम एक खेल मात्र खेल्न बाँकी छ । 

सिटीले अब फुलहमसँग, आर्सनलले साउथह्याम्प्टनसँग, चेल्सीले नटिंघम फरेस्टसँग, एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *