यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान आमनेसामने हुँदैछन् । यो खेल इन्टर मिलानको घरेलु मैदानमा मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलबाट दुवै टिम एकअर्कालाई पन्छाएर फाइनल प्रवेश गर्ने दाउमा छन् । अघिल्लो साता बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगको खेल रोमाञ्चक तरिकाले ३-३ को बराबरीमा सकिएको थियो ।
बार्सिलोनाको घरमा पहिलो लेग खेल्ने क्रममा चोटका कारण दोस्रो हाफको खेल खेल्न नसकेका स्टार लौटारो मार्टिनेजले आजको खेल खेल्ने सम्भावना ज्यादै न्यून मात्रै छ । खेलअघि इन्टरका प्रशिक्षकले यसबारे केही बताएका छैनन् ।
यता, पाहुना टोली बार्सिलोनाका गोलकर्ता खेलाडी रोवर्ट लेवानडोस्की भने आज चोटमुक्त हुँदै टिममा फर्किएका छन् । उनले चोटकै कारण पहिलो लेगको खेल गुमाएका थिए । उनको आगमन बार्सिलोनाका लागि सखद् हुनेछ ।
