रियल म्याड्रिडले ला लिगमा रोमाञ्चक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले मालोर्काविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।
रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ ।
सान्टियागो बेर्नाबेउमा घरेलु टोली रियललाई जित दिलाउन याकोबो रामोन र किलियन एमबाप्पेले गोल गरे । मालोर्काका लागि मार्टिन भाल्जेन्टले गोल गरे ।
खेलको ११औं मिनेटमा भाल्जेन्टको गोलमार्फत मालोर्काले अग्रता लिएको थियो । ६८औं मिनेटमा एमबाप्पेले रियलका लागि बराबरी गोल फर्काए ।
पाँचौं इन्ज्युरी मिनेटमा याकोबो रामोनले निर्णायक गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा छ भने रियल ४ अंकले पछि छ । बिहीबार एस्पान्योलसँगको खेलमा १ अंक जोड्न सके बार्सिलोना च्याम्पियन हुनेछ ।
