स्पेनिस जायन्ट रियल मड्रिडले आज आधिकारिक रूपमा युवा डिफेन्डर डीन हुइसेनलाई एएफसी बोर्नमाउथबाट अनुबन्ध गरेको घोषणा गरेको छ। २० वर्षीय डिफेन्डरको ट्रान्सफर फी ५ करोड पाउण्ड (€५९.५ मिलियन) रहेको छ, जुन उनको रिलिज क्लज हो।

हुइसेनले जुन २०३० सम्मको पाँच वर्षे सम्झौता गरेका छन्, र उनी नयाँ प्रशिक्षक शाबी आलोन्सोको पहिलो साइनिङ पनि बनेका छन्।

नेदरल्याण्डमा जन्मिएका र सानो उमेरमै स्पेन आएका हुइसेनको टेक्निकल क्षमता, बलमा शान्त स्वभाव, र १.९७ मिटरको अग्लो कदले उनीलाई शीर्ष डिफेन्डरहरूसँग तुलना गरिँदै आएको छ। उनले युभेन्टसबाट आफ्नो प्रोफेसनल यात्रा सुरु गरेका थिए, त्यसपछि रोमामा लोन spell बिताए, र २०२४ मा बोर्नमाउथ सरेर आए।

२०२४–२५ प्रिमियर लिग सिजनमा हुइसेनले ३४ खेल खेलेका थिए, जसमा ३ गोल पनि गरेका थिए। बोर्नमाउथलाई ऐतिहासिक १०औं स्थान पुर्‍याउनमा उनको भूमिका अत्यन्तै प्रभावशाली थियो।

हालै स्पेनी नागरिकता लिएका हुइसेनले नेदरल्याण्डविरुद्ध युएफा नेसन्स लिग क्वार्टरफाइनल खेलमार्फत स्पेनबाट आफ्नो डेब्यु गरेका थिए, र दोस्रो लेगमा पनि निर्णायक भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *