बिभागीय टोली एपिएफ मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा दोस्रो सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ७१औं मिनेटमा र अनिता केसीले ७६औं मिनेटमा गोल गरिन् ।

योसँगै रश्मि गोल्डकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । उनले २ खेलमा ६ गोल गरेकी छिन् । खेलको प्लेयर अफ दि म्याच एपिएफकी रेनुका नगरकोटे घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

अब एपिएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल बिहीवार दिउँसो ३ बजे हुनेछ । पुलिस मंगलबार नै भएको पहिलो सेमिफाइनलमा चितवनलाई ७-० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *