युरोपा लिगको उपाधिका लागि दुई इङ्लिस टोली म्यानचेस्टर युनाइटेड र टोटनहम हट्सपर भिड्ने भएका छन् ।
दुबै टोलीले बिहीवार सेमिफाइनलको दोस्रो लेगमा जित हासिल गर्दै फाइनल स्थान पक्का गरेका छन् ।
टोटनहमले नर्वेमा बोडो/ग्लिम्टलाई २-० ले हरायो । युनाइटेडले एथ्लेटिक क्लबविरुद्ध पछाडि परेको अवस्थाबाट ४-१ को जित निकाल्यो । पहिलो लेगबाट अग्रता लिएको दुबै टोलीले समग्र स्कोर अझै फराकिलो बनाउँदै फाइनल यात्रा निश्चित गरे ।
यो परिणामले युरोपा लिग वा युइएफए कपको इतिहासमा तेस्रो पटक दुई इंग्लिस क्लबबीचको फाइनल तय भएको छ । यसअघि सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएको थियो । १९७२ मा टोटनहमले दुई लेगको खेलमा वुल्भ्सलाई पराजित गरेको थियो ।
यसपटक मे २१ मा फाइनल एथ्लेटिक क्लबको घरेलु मैदान सन मामेस स्टेडियममा हुनेछ । जहाँ युनाइटेडले सेमिफाइनलको पहिलो लेगमा ३-० ले जितेको थियो ।
युरोपको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगको निर्णायक खेल म्यान युनाइटेड र टोटनह्यामलाई उपाधि जित्ने मात्र होइन, २०२५-२६ च्याम्पियन्स लिगमा स्थान बनाउने अवसर पनि दिनेछ ।
दुबै टोली प्रिमियर लिग अंक तालिकाको तल्लो भागमा रहेका छन् र कमजोर सिजनलाई उपाधिको साथ अन्त्य गर्न चाहन्छन् ।
एथ्लेटिक क्लबविरुद्ध १-० ले पछि परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै मेसन माउन्टले दोस्रो हाफमा बेन्चबाट आएर २ गोल गरे । कासेमिरो र रासमस होयलुन्डले पनि गोल गरेपछि युनाइटेड ७-१ को समग्र स्कोरसहित अगाडि बढ्यो ।
टोटनहमका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले गोल गरे र समग्र स्कोर ५-१ बनाएपछि नर्वेजियन टोली बोडो/ग्लिम्टलाई प्रतियोगिताबाट बाहिरियो ।
टोटनहमले यो सिजन युनाइटेडलाई ३ पटक हराइसकेको छ । २ पटक लिगमा र १ पटक काराबाओ कपमा हराएको थियो ।
