बार्सिलोनाले आफ्नो २८औं स्पेनिस ला लिगा उपाधि जितेको छ ।

विहीबार राति एस्पान्योलको घरेलु मैदान आरसीडीई स्टेडियममा कठिन २-० को जितसहित उपाधि नै पक्का गरेको हो ।

खेलको सुरुवातदेखि नै बार्सिलोनाले बलमाथि नियन्त्रण राख्यो, तर एस्पान्योलले काउन्टर एट्याकमा उत्कृष्ट अवसरहरू निकालेको थियो। चौथो मिनेटमै गोनजालेजले बार्सिलोनाको उच्च डिफेन्स लाइनको फाइदा उठाउँदै अवसर पाए, तर उनको प्रहार गोलपोस्टको छेउबाट बाहिरियो ।

१५औं मिनेटमा कप्तान पुआडोले अर्को राम्रो अवसर पाए, तर बार्सिलोनाका गोलकिपर वोइचिएक स्जेस्नीले उत्कृष्ट बचाउ गरे ।

बार्सिलोनाका लेवान्डोस्कीले ११औं मिनेटमा गोलको प्रयास गरे, तर उनको प्रहार गोलकिपर गार्सियाले सहजै जोगाए । यामाललाई पनि एस्पान्योलको कडा रक्षापंक्तिले रोकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफमा प्रशिक्षक फ्लिकले आक्रामक रणनीति अपनाए। ४६औं मिनेटमा मार्टिनको स्थानमा बाल्डेलाई मैदानमा उतारे। ५३औं मिनेटमा खेलको निर्णायक क्षण बन्यो । यामालले डानी ओल्मोको पासमा शानदार कर्लिङ प्रहार गरे । उनको प्रहार गार्सियाको पहुँचभन्दा टाढा रहेर गोलमा परिणत भयो ।

यो गोलले बार्सिलोनालाई १-० को अग्रता दिलायो र स्टेडियममा बार्सिलोनाका समर्थकहरू उत्साहित बनेका थिए । किन भने यो जितमात्रै निकाल्दा बार्सिलोनाले उपाधि जित्ने पक्का थियो ।

एस्पान्योलले खेलमा फर्कने प्रयास गरिरहँदा ८० औं मिनेटमा यामालमाथि फल गरेको भन्दै एस्पान्योलका काब्रेराले रातो कार्ड पाए । रातो कार्डले एस्पान्योल १० खेलाडीमा सीमित भयो र बार्सिलोनाले खेलमाथि पूर्ण नियन्त्रण कायम गयो।

खेलको अन्त्यतिर, इन्जुरी समयको ९०+५ मिनेटमा यामालले फर्मिन लोपेजलाई पास दिए र लोपेजले बक्सभित्रबाट शानदार फिनिस गर्दै बार्सिलोनालाई २-० को जित र ला लिगा उपाधि सुनिश्चित गरे ।

यो नतिजासँगै बार्सिलोनाले तालिकामा ८५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७८ अंक रहेको छ ।

यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गर्यो । रियलविरुद्ध सिजनको सबै क्लासिको जितेको बार्सिलोनाले दुवै कप फाइनलमा रियललाई नै हराएको थियो ।

अब बार्सिलोनाले भिल्लारियल र एथ्लेटिक क्लबसँग खेल्न बाँकी छ । भिल्लारियलविरुद्ध खेलपछि बार्सिलोनाले लिगको ट्रफी प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *