अल-इत्तिहाद क्लबले २०२४–२५ साउदी प्रो लिगको उपाधि जित्दै आफ्नो इतिहासमा १०औं पटक घरेलु लिग च्याम्पियन बन्न सफल भएको छ। अल-रायदमाथि ३–१ को सशक्त जितसँगै उनले दुई खेल बाँकी छँदै उपाधि सुनिश्चित गरेका हुन्।
टिमका प्रमुख स्ट्राइकर करिम बेन्जेमा चोटका कारण अनुपस्थित रहे पनि स्टीभेन बर्गविन र डानिलो पेरेइराका गोलहरूले टिमलाई ऐतिहासिक जित दिलाए। जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा हजारौं समर्थकहरूको उपस्थितिमा विजय उत्सव मनाइएको थियो।
यो उपाधिले अल-इत्तिहादको समृद्ध इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। यसअघि सन् १९८२ देखि २०२३ सम्म विभिन्न सिजनहरूमा उनीहरूले ९ पटक लिग जितेका थिए।
न’गोलो कान्टे, फाबिन्हो, हुसेम आओआर, र पेरेइराजस्ता विश्वस्तरीय खेलाडीहरू रहेको टिमले प्रशिक्षक लोरेन ब्लाङ्कको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्दै लिगमा दबदबा कायम गरेको थियो। टिमको बलियो रक्षात्मक संयोजन र धारिलो आक्रमण सिजनभर चर्चाको विषय बनेको थियो।
अब अल-इत्तिहादले सिजनमा ‘डोमेस्टिक डबल’ हासिल गर्ने लक्ष्य लिएको छ, जसका लागि उनीहरूले किङ्स कपको फाइनलमा अल-कद्सियासँग भिड्नुपर्नेछ।
