स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले शानदार पुनरागमन जित निकालेको छ ।
शनिवार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै सेल्टा भिगोलाई ४-३ ले हरायो ।
खेलको १२औं मिनेटमै फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर बोर्जा इग्लेसियासले १५औं, ५२औं र ६२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा सेल्टा भिगो ३-१ ले अघि बढ्यो ।
ड्यानी ओल्मोले ६४औं र राफिन्हाले ६८औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेलमा पुनरागमन गर्यो । बराबरीतर्फ पुगेको खेलको राफिन्हाले ईन्जुरी टाइमको आठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण ३ अंक दिलाए ।
जितसँगै ३२ खेलबाट ७३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानको रियल मड्रीडको ३१ खेलबाट ६६ अंक छ । पराजित सेल्टा भिगो ४३ अंक सहित आठौँ स्थानमा छ ।
गएराती नै भएको खेलमा एट्लेटिको मड्रीड भने लास पाल्माससँग स्तब्ध भयो । पालमासले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो । तेस्रो स्थानमा रहेको एट्लेटिकाको ३१ खेलबाट ५७ अंक छ ।
