इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) कठिन जित निकालेको छ । आइतबार विहान भएको खेलमा मियामीले कोलम्बस क्रूलाई १–० गोलले पराजित गरेको हो ।
कोलम्बसको घरेलु मैदानमा भएको खेलमा मियामीलाई जित दिलाउन बेन्जामिन क्रेमास्चीले निर्णायक गोल गरे । उनले खेलको ३०औँ मिनेटमा गोल गरेका हुन् ।
मेजर लिग सकर (एमएलएस) को दुई अपराजित टोलीबीचको भिडन्त ६० हजार ६१४ दर्शकले हेरेका थिए । जुन कोलम्बस क्रूको घरेलु खेलको कीर्तिमानी उपस्थिति र स्टेडियमको इतिहासमा सबैभन्दा ठूलो गैर–एनएफएल कार्यक्रम बन्यो ।
खेल मियामी सुपरस्टार लिओनल मेस्सीकै लोकप्रियताका कारण क्लिभल्यान्डको एनएफएल स्टेडियम ‘हन्टिङटन बैंक फिल्ड’ मा सारिएको थियो । मेस्सी एमएलएसमा सन् २०२३ मा आबद्ध भएयता मियामीको कुनै खेलमा ६० हजार दर्शक उपस्थित भएको यो नवौं पटक हो ।
खेलका दौरान क्लिभल्यान्ड काभेलियर्सका प्रशिक्षक केनी एटकिन्सन, खेलाडी ट्रिस्टन थम्पसन र एनएफएल स्टार जेरी ज्यूडीको पनि उपस्थितिले माहोल थप रोचक बनायो ।
गोलकिपर ओस्कर उस्टारीले दोस्रो हाफमा तीन उत्कृष्ट बचाउ गर्दै मियामीको अग्रता जोगाए । जितसँगै ८ खेलबाट १८ अंक जोडेको मियामी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलम्बस क्रू ९ खेलबाट १८ अंकका साथ चौथो स्थानमा छ ।
